अन्तरजातीय विवाह गर्ने इलामका १२ जोडीले प्रोत्साहन रकम पाएनन्


मङ्गलबारे (इलाम),  चैत १४ गते । अन्तरजातीय विवाह गर्ने इलामका १२ जोडीले सरकारबाट पाउनुपर्ने प्रोत्साहन रकम अझै पाएका छैनन् । सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रूपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएको थियो । अघिल्लो आर्थिक वर्ष २०६८÷०६९ मा जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गराएकामध्ये चार जोडीले अहिलेसम्म पनि प्रोत्साहन रकम पाएका छैनन् भने गत आवमा विवाह दर्ता गराउनेमध्ये आठ जोडीले रकम पाएका छैन । 

विसं २०६६ देखि दलित र गैरदलितबीच विवाह गर्दा सरकारले एक लाख रूपैयाँ प्रदान गर्दै आएको थियो । “अघिल्लो पटकको पनि पूरै रकम आएन, यसपालिको त सबैको बाँकी नै छ”– कार्यालय नासु नित्यानन्द घिमिरेले भन्नुभयो । यो वर्षको बजेट वक्तव्यमा समेत नपरेकाले रकम आउने सम्भावना कम रहेको प्रशासन स्रोतले बताएको छ । अन्तरजातीय विवाह गरेको विवाहदर्ता प्रमाणपत्र, गाउँ विकास समितिको सचिवको सिफारिसमा प्रशासनले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम उपलब्ध गराउँदै आएको थियो । 

अन्तरजातीय विवाह गर्नेको आवश्यक विवरण मन्त्रालय पठाइए पनि उक्त रकम अझै नआएको घिमिरे बताउनुहुन्छ । प्रोत्साहन रकम पाउने आशले कतिपयले विवाह गर्ने गरे पनि अहिले रकम नआउँदा समस्या भएको बताइएको छ । रासस

No comments:

Post a Comment