स्थानीय दलित महिलाहरुका लागि आएको तालिम गैरदलितलाई

फागुन-२, कैलाली । सीपमुलक र आयआर्जन कार्यक्रम स्थानीयस्तरमा संचालनहुँदै आएपनि लक्षित बर्गको सहभागिता नभएपछि अन्यले यसको लाभ उठाउन थालेका छन् ।

फुलबारी गा.बि.स वार्ड नं ६ मागा.बि.स.द्वारा दलित महिलाहरुका लागि संचालित सीपमुलक कार्यक्रम सिलाईकटाईमा यस्तै भएको छ । स्थानीय दलित महिलाहरुका लागि आएको सो तालिममा तालिम संचालनको अन्त्यसम्म आईपुग्दा एकजना दलित महिलाबाहेक अरुको सहभागिता हुन सकेन ।

गा.बि.स द्वारा छुट्याइएको ५० हजार रकमबाट १० वटा सिलाई मेशिन ल्याइएको तालीम संचालन समितिका सचिव रमेश बिशंखेले जनाए । बिशंखेका अनुसार मंसिरबाट सुरुभएको सो तालीममा स्थानीय ६ दलित महिलाका साथै १४ गैरदलित महिलाहरु सहभागि भएका थिए । तर तालीम सञ्चालन भएको केही दिनमै एकजना बाहेक अन्य दलित महिलाहरुले तालीम छोडेका हुन् ।

गा.बि.स. मै सबैभन्दा बढी दलित जनसंख्या रहेको वार्ड नं ७ र संगै जोडिएको वार्ड नं ६ को मध्यभागमा पर्ने स्याउले बजारमा गा.बि.स.द्वारा तालीम संचालन गरिएको थियो । तालीम संचालन समितिका सचिव बिशंखेका अनुसार सुरुमा इन्द्रा बिशंखे, भगवती श्रीमाल, कमला बि.क, चम्पा नेपाली, रत्ना नेपाली र राहुल नेपाली तालिममा सहभागि भएका थिए । तीनमहिने सो तालीममा पछि इन्द्रा बिशंखे बाहेक अन्य दलित महिला तथा पुरुषहरु सहभागि हुन छोडेका हुन् ।

स्थानीय स्तरमा कम रकममा प्रशिक्षक नपाइएपछि तालीमका लागि प्रशिक्षकमा डोटी जिल्लाको तिजालीका बिरबहादुर नेपालीलाई मासिक ७ हजार ५ सय पारिश्रमिक दिने सर्तमा ल्याइएको सचिब बिशंखेले बताए । यसरी ल्याइएका प्रशिक्षक नेपालीलाई बिनाकारण फर्काउनु भन्दा गैह्रदलितलाई समावेश गरेर भएपनि सीपमुलक तालिम संचालन गरिएको बिशंखेले बताए । गा.बि.सको बजेट बाट मेशिन समेत किनिसकेको अवस्थामा बिचमै तालीम स्थगित गर्नपनि नमिल्ने भएको हुँदा गैह्र दलितलाई समावेश गरेर अघि बढाइएको उनले बताए ।

तर स्थानीय एक दलितले निःशुल्क तालिम दिने भनेपनि मासिक ३ सय शुल्क लिन थालेपछि स्थानीय दलित समुदायले तालिम छोडेको बताए । तालीम संचालन समिति सचिव बिशंखेले मासिक ३ सय लिएको स्वीकारे । तर उनले मासिक शुल्क भन्दापनि तालीममा प्रयोग हुने कपडा र धागो जस्ता सामाग्रीका लागि सो रकम लिइएको बताए । गा.बि.स.को बजेट कमभएका कारण पनि प्रशिक्षकलाई मासिकतलब र अन्य खर्चका लागि नपुग्ने भएकाले प्रशिक्षार्थीबाट सो रकम लिने निर्णय संचालन समितिले गरेको उनले बताए ।

मानिसहरु सीप सिक्नका लागि हजारौ खर्च गरेर टाढा–टाढासम्म पुग्ने भएपनि सरकारद्वारा दलित समुदायका लागि गाउँघरमै सीपमुलक तालीम दिन खोजेपनि लिन नसकेको सचिव बिशंखेले बताए ।
गा.बि.स सचिव गणेश बस्नेतले फुलबारीमा सबैभन्दा बढी दलित जनसंख्या वडा नं. ७ मा रहेको बताए । उनले सो वडाको १२ सय ५कुल जनसंख्यामा ५ सय ७६ जना दलितहरु रहेको बताए । दलित जनसंख्या बढी भएकोले नै वडा नं. ७ मा चालु आ.ब. को बजेटबाट ५० हजार निकासा गरेर सीपमुलक तालीम संचालनका लागि दिइएको बताए । सरकारले दलित, आदिबासी, जनजाति, अपांग जेष्ठ नागरिक तथा पिछडिएको बर्गका लागि १५ प्रतिसत बजेट स्थानिय स्तरमा समेत छुट्याउँदै आएको छ ।
जिल्ला बिकास समिति कैलालीका सूचना अधिकृत योगेन्द्र ओझाका अनुसार गा.बि.स अनुदानमा १० करोड १३ लाख २४ हजार रुपैयाँ चालु आर्थिक बर्षको बजेटमा छुट्याईएको छ । सो रकममध्ये १० प्रतिसत महिला, १० प्रतिशत बालबालिका, १५ प्रतिशत सामाजिक रुपमा पछाडी परेका, १५ प्रतिसत कृषि क्षेत्र र ५० प्रतिसत बिकास निर्माण पुर्वाधारमा खर्च गरिने बताए ।

उनका अनुसार दलित बर्ग उत्थानका लागि ५ लाख, बादी समुदायका लागि एक लाख ५० हजार रकम छुट्याइएको छ । यस्तै केन्द्रीय कार्यक्रम अनुसार सीपमुलक र आयआर्जनका लागि गैह्र सरकारी संस्थामार्फत संचालन गर्ने गरी ५ लाख रकम अलग छुट्याइएको छ ।


1 comment:

  1. यो अति दुःख लाग्दो कुरो हो । यसरी कुनै पनि कार्यक्रम संचालन गर्नु पूर्व वास्तविकता के हो भनेर कुनै प्रशिक्षण दिएर उनीहरुलाई सबै कुराहरुको जानकारी गराएर मात्र कार्यक्रम संचालन गर्नुपथ्र्यो । यसरी कुनै काम गर्दा योजना बिना नै संचालन गर्दा यस्तै हुन्छ । अब आउने कार्यक्रमहरुमा संचालन, नेतृत्व गर्नु पूर्व नै त्यसको योजना बनाई अगाडी बढनु पर्दछ भन्ने ज्ञान सबैमा जावस ।
    यसरी यो आधा बजेट किन निकालिन्छ के यो खेलवाद गर्न र बजेटको नाम देखाउनलाई मात्र हो ?
    अन्य रकम माग गर्न सकिदैन्थ्यो ? यसरी सानो तिनो कुरामा कुनै नेतृत्व गर्न सकिदैन भने आफनो मुक्ति, अधिकारको लागि कसरी लड्न सकिन्छ ?

    ReplyDelete