विश्वमानचित्रमा नेपाल एसिया महादेशको झन्डै मध्यभागमा अवस्थित छ । पृथ्वीको सम्पूर्ण धरातल (१९,६२,५०,००० वर्गमिल) को करिब ०.०३ प्रतिशत र एसिया महादेशको ०.३ प्रतिशत भूमि नेपालले ओगटेको छ । वि० सं० १९०३ भन्दा अघि नेपाललाई ५ पहाडी क्षेत्र र ६ तराई क्षेत्रमा विभाजन गरिएको थियो । राणाकालमा अनेकौँ गढी, गौँडा, गोश्वारा आदिको व्यवस्था गरिएको थियो र नेपाललाई ३५ जिल्लामा विभाजित गरिएको थियो । यस स्थितिमा रहेको नेपाललाई राजा महेन्द्रले २०२२ सालमा १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेका थिए ।
नेपालको यस्तै प्रशासनिक प्रबन्ध रहेका ७५ जिल्लामध्ये काभ्रेपलाञ्चोक जिल्ला पनि एक हो । यसै जिल्लामा रहेका दमाईं जातिको अध्ययन गर्नुभएका डा० विष्णु सापकोटाको हस्तलिखित पाण्डुलिपि मैले मित्र हरि मञ्जुश्रीको सौजन्यबाट आद्योपान्त अध्ययन गर्ने मौका पाएँ ।
अध्ययनपश्चात् मेरो मनमा उब्जेका कुरालाई यहाँ प्रस्तुत गर्ने जमर्को गर्दैछु ।‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो’ भनेर पृथ्वीनारायण शाहले नेपाली समाज धेरै जात मिसिएको समाज हो भने । हुन पनि नेपालको माटोमा सेर्पाको नाच, गुरुङको रोदी र लिम्बूको धाननाचको सुगन्ध पाइन्छ । यहाँ नेवारको लाखेनाच र ब्राह्मणको खैँजडी रन्किएको पाइन्छ भने दमाईंको सहनाई, दमाहा, ढोलक र ट्याम्को बाजा पनि घन्केको पाइन्छ । सबै जातजातिले आ–आफ्नो धर्म र संस्कृति, कला र साहित्य, सामाजिक व्यवस्था, बानीबेहोरा र रीतिथितिका रूपमा बहुसांस्कृतिक पद्धति अँगालेको र हुर्काएको देश हो नेपाल । यहाँ हरेक जातजातिको धर्मसंस्कृति, रीतिरिवाज, परम्परा आदिलाई आधारभूत रूपले विचार गर्नुपर्ने हुन्छ । कहीँ–कतै कसैको धर्मसंस्कृति र जातीय छोइछिटोले गर्दा सामाजिक सद्भावमा दखल पर्ने पो हो कि भनेर सचेत रहने हाम्रो नेपालमा यस्तो धार्मिक–सांस्कृतिक सद्भाव नै जिउँदो शक्तिका रूपमा रहेको छ ।
निश्चित समूहका मानिसलाई उनीहरूको भाषाले बाँधेको हुन्छ र संस्कृतिले बाँधेको हुन्छ । यही बन्धनयुक्त भावनाले ‘म’ बाट ‘हामी’ भन्न सिकाउँछ । अनि देशका बारेमा सम्पूर्ण जातजातिको एकै प्रकारको चिन्तन रहन्छ । यो एकै प्रकारको चिन्तन नै सिङ्गो नेपाल हो । यो सिङ्गो नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय विभिन्न वेशभूषा र धर्मसंस्कृतिको उपज हो । यसमध्ये दमाईं जातिका बारेमा डा० विष्णु सापकोटाले लेख्नुभएको यो पुस्तक त्यो पिछडिएका वर्गका बारेमा अध्ययन–विश्लेषण गरी उनीहरूको जीवनस्तर उकास्न खोजिएको एउटा सत्प्रयास हो ।
यस पुस्तकमा वि० सं० २०५८ सालको तथ्याङ्कलाई आधार लिइएको छ । त्यस्तै वि० सं० २०४७ सालको संविधानमा दलितका बारेमा उल्लेख भएको विषय यसमा लिइएको छ । दलितका सम्बन्धमा वि० सं० २०६२–६३ को आन्दोलनबाट प्राप्त गरेको संविधानमा निकै कुराहरू समेटिएका छन् । तिनै सन्दर्भसामग्रीलाई पुस्तकको स्रोतसामग्री बनाएको भए ‘सुनमा सुगन्ध’ हुने थियो ।
जे होस्, काभे्र जिल्लामा दलित समुदायका रूपमा रहेका दमाईं जातिको धर्म, संस्कृति, पेसा, चाडपर्व, रहनसहन, सामाजिक अवस्था, आर्थिक अवस्था आदिको उल्लेख यस पुस्तकमा गरिएको छ । अझ उनीहरूको साहित्यिक र राजनीतिक अवस्था तथा सञ्चारका क्षेत्रमा रहेको अवस्थालाई पनि समेटिएको भए वास्तविकता उजागर हुने थियो ।
काभ्रेमा रहेका दलित वर्गमध्येको एक दमाईं जातिका बारेमा गैरदलित जातिका लेखकबाट लेखिएको सम्भवतः यो पहिलो पुस्तक हो । यस्तो पुस्तकले सम्बन्धित जातिको सामाजिक चालचलन, रीतिस्थिति र उनीहरूको शिक्षादीक्षाका बारेमा बुझ्न सजिलो हुन्छ । उनीहरूमा लुकेर रहेका साहित्य, सङ्गीत, कला आदिको मात्र इतिहास नरही लोप हुन लागेका पञ्चैबाजा, नौमतीबाजा आदिको पनि संरक्षण हुन पुग्छ ।
अहिले हाम्रो मुलुकमा पिछडिएका वर्ग निकै रहेका छन् । उनीहरूको जीवन उकास्न उनीहरूको निजीपनलाई पहिचान गरी उनीहरूलाई अगाडि बढाउनुपर्छ । हाम्रो समाजमा ढोँगी र पाखण्डीपन बोकेर हिँड्ने व्यक्ति निकै रहेका छन् । तिनीहरूबाट जोकोहीले पनि बच्नुपर्छ । गान्धीले भनेका छन् — ‘सादा जीवन बाँच तर विचार भने उच्च राख’ । सादा जीवनको अर्थ भोकै रहनु र सादा जीवनको अर्थ लुगा नलगाउनु होइन । उनको आशय आ–आफ्नो धर्मकर्म, रहनसहन र कलासंस्कृतिलाई फलाउनु–फुलाउनु हो, मानव–सभ्यतालाई उचाल्नु हो ।
वेदमा भनिएको छ ‘अहं ब्रह्मास्मि’ अर्थात् म नै ब्रह्म हुँ, ‘तàवमसि’ अर्थात् त्यो (भगवान्) भन्नु नै तिमी हौ, ‘अयमात्मा ब्रह्म’ अर्थात् यो आत्मा नै ब्रह्म हो, ‘सर्वं खल्विदं ब्रह्म’ अर्थात् यो सबै नै ब्रह्म हो । वेदले यसो भनेर मानिसलाई आत्मदर्शन गराउन खोजेको छ । यसरी मानवलाई आत्मदर्शन गराउने शास्त्रले आकाशमुनि रहने सम्पूर्ण मानवलाई सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, राजनीतिक आदि दृष्टिबाट सम्पन्न गराउनुपर्छ भनेको छ । तसर्थ जातजातिका कुरा नउठाई हामीमा मानव हुनुको भाव हुनुपर्छ । मानव हुनुको भावनामा नै मानवता लुकेको हुन्छ । यसले जीवन जिउने कला सिकाउँछ । स्वयं सुखका साथ बाँच्न र अर्कालाई पनि सुखका साथ बाँच्न दिन सिकाउँछ । एउटा मानव अर्को मानवका लागि तगारो होइन सहयोगी हुनुपर्छ भन्ने भावना सिकाउँछ हाम्रो पूर्वीय दर्शनले । यसरी मानव हुनुको भावबाट आफूलाई अगाडि बढाउनका लागि आफूमै सर्वप्रथम क्रान्ति ल्याउनुपर्छ । मान्छेमा विद्रोह म¥यो भने उसको परिचय समाप्त हुन्छ । त्यसका लागि एउटा नियमसङ्गत क्रान्तिलाई समाउनुपर्छ । त्यो नियमसङ्गत क्रान्ति भनेको विवेक हो । विवेकले ‘हुन्छ’ र ‘हुन्न’ भन्ने भावलाई छुट्याउँछ । विवेकबाट समर्थन पनि हुन्छ, असमर्थन पनि हुन सक्छ । विवेकले मानिसलाई अध्यात्मवादी बनाउँछ । अध्यात्मवादी दर्शन मानवतायुक्त हुन्छ । यसमा कुनै पनि सम्प्रदाय अटाउँदैन, कुनै पनि वर्ग र जाति अटाउँदैन । यसमा त मानवता मात्र अटाउँछ, मानवतावादी मन मात्र अटाउँछ । मानवता भनेको सुन्दर, स्वस्थ, समझदार र विवेकपूर्ण भाव हो ।
अहिलेको अवस्थामा जुन प्रकारको जातीय द्वन्द्व रहेको छ, त्यो आफ्नो स्वार्थ पूरा गर्न अर्थसम्पन्न केही गैरसरकारी संस्थाहरूको उपज हो । उनीहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न जातपात र धर्मका कुरा उठाएर मानव–मानवबीच फाटो सिर्जना गराएका हुन् । यस्ता कुराहरूबाट हामीले सचेत हुनुपर्छ । धर्मका कुरा उठाएर मानव–सभ्यतालाई नष्ट पार्न तल्लीन रहेका अन्तर्राष्ट्रिय स्तरका केही गैरसरकारी संस्थाहरूले मानव हुनुको भावलाई लत्याइदिएका छन् । माक्र्सले धर्मलाई अफिम मानेका छन्, तर अध्यात्मलाई अफिम भनेका छैनन् । हो, यही अध्यात्मवादी दर्शनले मानवतालाई बोकेको छ ।
समष्टिमा जातीय पहिचान बोकेको यो ‘काभ्रे जिल्लाका दमाईं जाति ः विगत र वर्तमान’ पुस्तक ऐतिहासिक पृष्ठभूमि बोकेर हाम्रा सामु उभिएको छ । हामीले मानव हुनुको भाव बोक्नुपर्छ, जातीय भाव होइन । एउटा सिङ्गो आकाश स्वीकार्नुपर्छ, खण्डित आकाशलाई होइन । एउटा जातिले अर्को जातिको अवस्थालाई स्वीकारी मानवत्वको भाव विकसित गराउनुपर्छ । पुस्तकका लेखक डा० विष्णु सापकोटाको आशय पनि यही हो । यस पुस्तकले दमाईं जातिको मात्र नभई सिङ्गो नेपाली सभ्यताको इतिहासलाई बोकेको छ ।
No comments:
Post a Comment