परम्परागत रुपमा चलेका आरन व्यवसाय धरासायी अवस्थामा

नुवाकोट÷ परम्परागत रुपमा सञ्चालित ग्रामीण भेगमा रहेका आरन व्यवसायहरु अहिले संकटमा परेका छन् । काम धेरै गर्नु पर्ने तर यसबाट काम अनुसारको कमाई नहुने समस्या भए पछि पेशाकर्महिरुले यसको विकल्प खोज्न थालेका कारण यसरी संचालित आरन व्यवसायहरु संकटमा परेका हुन् । एक दशक अघिसम्म नुवाकोटको भाल्चे, काउले, साल्मेमा गरी करिव एक सयको हाराहारीमा रहेका यस्ता आरनहरुको संख्या घटेर अहिले करिव दश वटा जति मात्र रहेका छन् । पहिले यस व्यवसायमै संलग्न रहेर परिवार चलाउनेहरुको संख्या धेरै भएको भएपनि अहिले वीस जना जति मात्र रहेको भाल्चेका स्थानिय व्यवसायी दिलबहादुर विश्वकर्माले बताए । आफूहरुले अहिलेसम्म नै परम्परागत रुपमै व्यवसाय चलाउनु परेकोले आफ्नो आरन व्यवसाय धरासायी अवस्थामा पुगेको उनी बताउँछन् । यहाँका व्यवसायीहरुले गाउँमा रहेका विष्टहरुका हँसिया, कोदाला, कोदाली तथा अन्य फलामका कृषि औजारहरु बनाउन र यीनीहरुमा धार लगाउन धेरै दुःख गर्नुपर्छ । 
यस बापत उनीहरुले वर्षको केही पाथी अन्न र चाडपर्वमा छुट््याइने केही भाग भन्दा बाहेक अरु पारिश्रमिक केही पनि पाउँदैनन् । यस्तो प्रथालाई गाउँ–घरमा बालीघरे प्रथा भनिन्छ ा परम्परागत रुपमा चलिआएको यस्तो बालीघरे प्रथा त्यतिखेर राम्रैसँग चलेको भएपनि अहिलेको महंगीमा यसले धान्न नसक्ने भएपछि गाउँबाट आरन व्यवसाय विस्थापनको चपेटामा परेको सम्बद्ध व्यवसायीहरुको भनाई छ । फलामको काम गर्नुपर्ने र अहिले यसको भाउ पनि अन्य सामानहरु जस्तै बढेकाले पनि यो व्यवसायलाई अप्ठेरो परेको उनीहरुको गुनासो छ । यसको विकल्पमा उनीहरु मध्ये धेरै जसो रोजगारीका लागि देशका विभिन्न भागमा र खाडी मुलुक पुगेका छने भने केही मात्रामा जग्गा जमीन हुनेहरु खेती र पशुपालन तिर लागेका छन् । 
जग्गा जमीन नहुने र अन्य कामको विकल्प पनि नहुनेहरु मात्र अहिले यस्तो काम मै लागि रहेका छन् । यहि अवस्था रहिरहने हो भने अवको केही वर्ष भित्रमा नैे आरन व्यवसाय पूर्ण रुपमा हराएर जानेमा स्थानीय विश्वकर्माहरु चिन्तित देखिन्छन् । समाजमा यस्तो काम गर्ने मानिसहरुलाई हेलाको दृष्टिले हेरिने गरिएको छ । दलितको सुचीमा सुचिकृत उनीहरुले छोएको पानी पनि चल्दैन भनिन्छ । यीनै दलितहरुले काम नगर्ने हो भने गैह्रदलितहरुको दैनिक कामकाज रोकिन्छ । यस तर्फ अलिकति पनि नसोचिकन आफूहरुलाई बेवास्ता गरिंदा आफूहरु विस्थापनको क्रममा रहेको स्थानीय अर्का व्यवसायी श्याम विश्वकर्माले गुनासो गरे । यसबाट निर्वाह नहुने भएकाले अव यसको अन्य विकल्प खोज्ने अवस्था आएको उनको भनाई छ ।

No comments:

Post a Comment