अन्तर्जातीय विवाह गरेको एक वर्षसम्म घर फर्कन सकेनन्


०७० चैत १० गते, जाजरकोट ।अन्तरजातीय विवाह गरेका आरोपमा घर प्रवेशमा रोक लगाइएका साल्मा गाविस-५ सोडारीका २४ वर्षीय गणेशबहादुर नेपाली र सोही ठाउँकी २२ वर्षीया निर्मला बस्नेत अन्तर्जातीय विवाह गरेको एक वर्षसम्म घर फर्कन सकेका छैनन् ।

उनीहरू बीच ०६९ चैत १८ प्रेम विवाह भएको थियो । विवाह पश्चात सोही गाउँका कथित माथिल्लो जातिका भनिने गाउँलेहरूको धम्कीका कारण अन्तर्जातीय विवाहित दम्पती ०६९ चैत १९ गतेदेखि विस्थापित जीवन बिताइरहेका छन् । उनीको जोडी हाल दशेरा गाविस-८ बडाबनस्थित आफ्न्तको घरमा शरण लिएर बस्दै आएका छन् । आफ्नो विस्थापित परिवारको पुनर्थापनामा दलितका समस्या समाधानका लागि स्थापना गरिएका सङ्घ संस्थाहरूले कुनै पहल नगरेको गणेशबहादुर नेपालीले गुनासो गरे ।

यस्तै समस्या खलङ्गा गाविस-६ पोखराकी २९ वर्षीया जमुना बिकको पनि रहेको छ । उनलाई आफ्नै घर परिवारले दलित भन्दै घर प्रवेशमा रोक लगाएपछि उनीसहित उनका चार बालबालिका चारमहिना देखि गाउँमै बिचल्लीमा पर्दै आएका छन् ।

यस्तै पीडा गाउँमा उनीहरूले मात्र खेप्नु परिरहेको छैन् सदरमुकाम खलङ्गा भित्रकै एक महिला सहित उनका चार बालबालिकाले जातीय विभेदको पीडा भोग्नु परेको छ । दश वर्षअघि सँगै मर्ने बाँच्ने कसम खाई अन्तर्जातीय विवाह गरेका पतिले धोका दिएपछि खलङ्गा गाविस-५ पोखराकी २९ वर्षीया जमुना बिक आफ्ना चार सन्तानसहित चार महिनादेखि गाउँमै बिचल्लीमा पर्दै आएकी छन् । उनी अहिले न्यायको खोजीमा भौतारी रहेकी छन् ।

०६० सालमा खलङ्गा गाविस-५ पोखराका ३१ वर्षीय गंगाराम बुढाले २९ वर्षीया जमुनासँग अन्तर्जातीय विवाह गरेका थिए । अन्तर्जातीय विवाहलाई गंगारामको घर परिवारले स्वीकार नगरेपछि उनीहरू विवाह गरेको केही दिनमा भारतको हिमाञ्चल प्रदेशको किनोरमा गई बस्दै आएका छन् । भारतमा मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका पति गंगाराम बुढा आफ्ना परिवारहरूलाई भारतमै छोडेर गत असोज महिनामा दशैं मनाउन घर फर्केका थिए ।

दशैं मनाउन घर फर्केका पति गंगारामलाई अन्य आफन्तहरूले आफ्नै जातको विवाह गरेर घरमा बस्न दबाब दिएपछि उनले पत्नी र अन्य बालबच्चाहरूलाई छाडेर ०७० असोज १९ गते रुकुम गराईलाकी भावना बुढासँग बहुविवाह गरे । जेठी पत्नी जमुनाले पतिले बहुविवाह गरेको थाहा पाएपछि ०७० पुस १४ गते घर फर्किन । जेठी पत्नी नेपाल आएको थाहा पाएपछि गंगाराम र उनकी कान्छी पत्नी भावना ०७० पुस १५ गतेदेखि फरार भएको स्थानीयबासीले बताए ।

पति घर छोडेर फरार भएपछि जमुना र उनका चार लालबालालाई खान र बस्न गाउँमा समस्या भएको छ । उनी ०७० पुस १७ गते घरमा बस्न गइन तर उनलाई र उनका बालबच्चाहरूलाई ससुरा देबे बुढा र घरका अन्य परिवारहरूले दलित महिला भन्दै घर प्रवेशमा रोक लगाएपछि चार महिनादेखि जमुनासहित उनका बालबच्चा गाउँमै बिचल्लीमा पर्दै आएको जमुना बताउँछिन् ।

जमुनाले घर फर्केपछि पति भेट्न नपाएको मात्र हैन, उनले घर भित्र पाइला टेक्न पनि पाइनन् । अहिले उनी सोही ठाउँस्थित माइतीको शरणमा बस्दै आएकी छन् । जमुनासँग २ वर्षदेखि ८ वर्षसम्मका छोरीहरू साथमा छन् । उनीहरूलाई अहिले पालनपोषण र पढाउन निकै समस्या परेको जमुनाले गुनासो गरिन् ।

यसैबीच, जाजरकोट जिल्लालाई ०७७ सम्म जातीय भेदभाव तथा छुवाछुत मुक्त जिल्ला घोषणाको तयारी भइरहेको छ । तर, जिल्लाको ग्रामिण भेगदेखि सदरमुकामसम्म जातीय भेदभावका घटना प्रत्येक दिन भइरहेको दुखद् भएको राष्ट्रिय दलित नेटवर्कका जिल्ला संयोजक गोपाल चदाराले बताए ।

No comments:

Post a Comment