रगत अभावले सुत्केरीको बिजोग

मुगु, फाल्गुन २१ - श्रीकोटकी जौकला नेपाली घरमै सुत्केरी हुँदा रक्तस्रावले सिकिस्त छिन् । रगत कम भएपछि उनलाई तत्काल ४ पिन्ट रगत चाहिएको छ । तर रगत नपाउँदा उनी अस्पतालमै छटपटाइरहेकी छन् । रगत अभावले पत्नीको ज्यान जोखिममा परेपछि उनका दृष्टिविहीन पति कल्से चिन्तामा छन् । उनले सहयोग गर्न र पत्नीको ज्यान जोगाइदिन आग्रह गरेका छन् । गत शुक्रबार मृत शिशु जन्माएकी जौकलालाई रगत अभाव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको हो । अस्पतालमा 'ए बी' पोजेटिभ रगत अभावले उनको ज्यान जोखिममा परेको हो ।

१५ शय्याको अस्पतालमा रक्त सञ्चार केन्द्र नहुँदा सुत्केरीले समस्या भोग्दै आएका छन् । रेडक्रसले स्थापना गरेको रक्तसञ्चार केन्द्र दिगो नहुँदा कठिनाइ भएको हो । 'जौकलाको उपचारमा कठिनाइ भएको छ, ज्यान जोखिममा छ,' जिल्ला स्वास्थ्यका निमित्त अधिकृत पशुराम नेपालीले भने, 'चार पिन्ट रगत कहाँबाट ल्याउने ? एक पिन्ट त म आफैं दिन तयार छु । अरू कोही भेटिएनन् ।' जौकलाको आपतकालीन अवस्थामा उपचार जारी छ । जिल्ला स्वास्थ्य कार्यालयले रेडक्रस र अन्य स्थानीय निकायसँग सहयोग मागेको छ । पत्नीको पीडाले कल्से दुःखी छन् । उनले रुँदै सहयोगका लागि अनुनय गरे । 

कल्से मुगुका लोकगायक पनि हुन् । दुई वर्षअघि उनले २४ वषर्ीया जौकलासँग विवाह गरेका हुन् । 'गीत गाएर भए पनि दुई छाक टार्दै आएको छु । दैवले यो के गर्न लाग्यो,' उनले भने, 'शिशु खेर गयो । श्रीमती बचाइदिनुपर्‍यो ।' विपन्न उनले श्रीमतीको उपचारका लागि सुर्खेत वा नेपालगन्ज लान सक्ने अवस्थामा छैन । जिल्ला अस्पतालमा गर्भ परीक्षण गराउँदा उल्टो बच्चा भएको भन्दै जौकलालाई नेपालगन्ज भेरी अस्पतालमा रिफर गरिएको थियो । तर हिमपातले यातायात अवरुद्ध भएर लैजान सकेनन् । गत वर्ष रोवास्थित सोवागाउँकी लछुमा बुढालाई रगत अभाव हँुदा नेपाली सेनाले ३ पिन्ट रगत दिए पनि ज्यान जोगिएन । रगत अभावले धेरै सुत्केरीको अकालमा ज्यान जाने गरेको अस्पतालले जनाएको छ ।

गम्भीर अवस्थामा बिरामी रिफर

बाँके- यहाँको एक निजी अस्पतालले ढिलो गरी सरकारीमा रिफर गर्दा एक बालिकाको अवस्था गम्भीर बनेको छ । ट्रयाक्टरको ठक्करबाट घाइते दाङ गडवा कान्छीगाउँकी ८ वषर्ीया रोशनी चौधरीको अवस्था गम्भीर बनेको हो । उनलाई नेपालगन्जस्थित शिक्षण अस्पतालले २४ घन्टा राखेर भेरी अञ्चल अस्पताल पठाएको हो । तर त्यहाँ पनि रोशनीको उपचार असम्भव भएपछि भेरी अस्पतालले भारतको लखनऊ रिफर गरेेको छ । घर नजिकै खेल्दै गर्दा शनिबार ट्रयाक्टरले उनलाई ठक्कर दिएको थियो । भेरी अस्पतालका चिकित्सकले धेरै रगत बगिसकेकाले लखनऊ रिफर गरिएको बताए । आर्थिक अभावले बालिकाको उपचार रोकिएको थियो । ट्रयाक्टर साहु सम्पर्कमा आएपछि आइतबार राति उनलाई लखनऊ लगिएको हो । उनको अवस्था थाहा हुन नसकेेको प्रहरीले जनायो ।

भेरी अञ्चल अस्पतालका प्रमुख डा. पीताम्बर सुवेदीले निजीले अन्तिम समयमा बिरामीलाई उपचारका लागि पठाउने गरेको बताए । 'यो चरम लापरबाही हो । ढिलो गर्दा बिरामीको ज्यानै जोखिममा पर्ने गरेको छ,' उनले कान्तिपुरसँग भने, 'पैसा कमाउने नाममा बिरामीको जीवनसँग खेलबाड गर्न पाइँदैन ।' शिक्षण अस्पताल नेपालगन्जका प्रबन्धक डा. सुरेशकुमार कनौडियाले जटिल अवस्थाका बिरामीको उपचारका लागि खतरा मोल्ने वातावरण नभएको बताए । बिरामीका परिवारले अस्पतालमा विवाद गर्ने परम्पराको विकास भएकाले चिकित्सकहरू उपचार गर्न डराउने गरेको बताए । 'केही भइहाल्यो भने चिकित्सक माथि भौतिक आक्रमण गरिन्छ । अस्पताल प्रशासनसँग लाखौं क्षति मागिन्छ,' उनले भने ।
 
 छट्पटाइरहेकी सुत्केरीलाई अमेरिकाबाट २५ हजार
काठमाडौं , फाल्गुन २१ - अत्याधिक रक्तश्रावका कारण मुगुस्थित जिल्ला अस्पतालमा छटपटाइरहेकी सुत्केरी जौकला नेपालीलाई अमेरिकाबाट २५ हजार रुपैयाँ सहयोग जुटेको छ ।ती महिलाको स्वास्थ्य लाभको कामना गर्दै इन्टरनेश्नल नेप्लिज ब्लड डोनर्सका अध्यक्ष अर्जुन प्रसाद मैनालीले २५ हजार रुपैयाँ सहयोग पठाएका हुन् । चार पिन्ट रगत अभाव भएकी सुत्केरीबारे ईकान्तिपुरमा मुगुस्थित संवाददाता राजबहादुर शाहीले सोमबार समाचार लेखेका थिए ।

काभ्रेको सिपाली मुलघर भई हाल अमेरीकामा बस्दै आएका मैनालीले रगत अभावका छटपटाउने विपन्न समुदायका दर्जनौ बिरामीलाई वर्षौदेखी अमेरीकाबाट आर्थिक सहयोग जुटाउदै आएका छन् । ईकान्तिपुर लगायत नेपाली अनलाइनमा रगत अभाव र गरीबीका कारण समस्या झल्नेलाई मैनालीले त्यहा रहेका नेपाली लगायतबाट चन्दा संकलन गर्दै नेपालका विभिन्न भेगमा सहयोग पठाउदै आएका छन् । १०४ औं अन्तराष्ट्रिय महिला दिवसको छेको पारी सेन्चुरी बल्ड डोनरका रुपमा पहिचान बनाएका मैनालीले ४८ वषिर्या जौकलालाई आर्थिक सहयोग पठाएका हुन । 'दिवस भएर के गर्नु दिवस आफैले सहयोग गर्न सक्दैन रहेछ, यो सानो सहयोग मुगुकी ती दुखी महिलालाई पठाइदिनुहोला,' उनले इकान्तिपुर मार्फत भनेका छन् ।   

तीन दिनदेखि बिमानको प्रतिक्षामा रहेकी मुगुकी सुत्केरी जौकलाले गत शुक्रबार मृत शिशु जन्माएकी थिइन । त्यसबेलादेखी जौकला रगतश्रावबाट गुजि्ररहेकी छन ।  रगत अभावले पत्नीको ज्यान जोखिममा परेपछि उनका दृष्टिविहीन पति कल्से नेपालीले चिन्ता व्यक्त गर्दै स्थानिय संवाददातामार्फत पत्नीको ज्यान जोगाइदिन बिलौना गर्दै आग्रह गरेको समाचार कान्तिपुर दैनिकमा छापिएको थिए । १५ सैयाको अस्पतालमा रक्त सञ्चार केन्द्र छैन । गत वर्ष त्यहीको रोवास्थित सोवागाउँकी लछुमा बुढालाई रगत अभाव हुँदा नेपाली सेनाले रगतदान गरी ज्यान जोगाइदिएको थियो । मुगुमा रगत अभावले धेरै सुत्केरीको अकालमा ज्यान जाने गरेको अस्पतालले बताउदै आएको छ ।

यसपटक अस्पतालमा गर्भ परीक्षण गराउँदा जौकलाको पेटमा रहेको बच्चा उल्टो रहेको परीक्षणबाट देखिएको थियो । अस्पतालले तुरुन्त नेपालगन्जमा रहेको भेरी अस्पतालमा रिफर गरेको थियो । तर हिमपातले हवाई र सडक यातायात अवरुद्ध भएर जौकलालाई उनका पतिले नेपालगंज ओराल्न सकेन ।

- स्रोत : कान्तिपुर

No comments:

Post a Comment