बच्चा जन्माउन नसकेर आधिका सार्कीको बाटोमै मृत्यु

Like us:  विभेद बिरुद अभियान on Facebook
दयाराम पण्डित,बाजुरा
बाजुराको बाँधु गाविस निवासी एक गर्भवती आमाले बच्चा जन्माउन नसकेर बिहीबार दिउँसो ज्यान गुमाउनुपरेको छ। बच्चा जन्माउन नसकेरै ज्यान गुमाउनेमा बाँधु गाविस–४ धिम निवासी २४ वर्षीया आधिका सार्की हुन्। बुधबार साँझदेखि सुत्केरी व्यथाले छटपटिएकी सार्कीको गाउँघरमा उपचार गर्न नसकेपछि डोकोमा बोकेर बाँधुको भातृकप्साडी स्वास्थ्य चौकीमा ल्याउने क्रममा बिहीबार दिउँसो २ बजे बाटोमै मृत्यु भएको मृतक सार्कीका आफन्त गोरखबहादुर सार्कीले जानकारी दिनुभएको छ।
गाउँ नजिकै स्वास्थ्य चौकी तथा स्वास्थ्य क्लिनिक पनि नहुँदा उपचार गर्न नसकी भाउजूले ज्यान गुमाउनुपरेको मृतक सार्कीका देवर गोरख सार्कीले दुःख व्यक्त गर्नुभयो। ‘बुधबार रातिदेखि लागेको सुत्केरी व्यथाले च्यापेर घरमै छटपटाउन थालेपछि बिहीबार दिउँसो डोकोमा बोकेर ल्याउँदै थियौं, घरबाट आधा घण्टा टाढा लैजाँदै गर्दा डोकोमै मृत्यु भयो’ –उनका आफन्तले गहिरो दुःख व्यक्त गर्दै भने। बाँधु गाविसको स्वास्थ्य चौकी मृतक सार्कीको गाउँ धिमबाट पाँच घण्टाको पैदल दूरीमा पर्दछ। छिटो उपचार गराउन नस्कदा सार्कीको मृत्यु भएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनमी तथा सुरक्षित मातृत्व कार्यक्रमका फोकलपर्सन शर्मिला शाहले बताउनुभयो। यद्यपि ती गर्भवती सार्कीको मृत्युबारे आधिकारिक जानकारी भने आइनसकेको अनमी शाहले बताउनुभयो। स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर तथा आवश्यक जनशक्ति भए पनि स्वास्थ्य चौकी धिमबाट घण्टौं टाढा भएकाले कैयौं सुत्केरी महिलालाई बर्थिङ सेन्टरसम्म ल्याउने नसकी तिनीहरूको घरमै वा बाटोमै मृत्यु हुने गरेको अनमी शाहले स्वीकार्नुभयो। ‘गाउँबाट स्वास्थ्य केन्द्र टाढा छ, यातायातको सुविधा छैन’ –गाउँमा पनि स्वास्थ्य क्लिनिक नहुँदा गर्भवतीले अकालमै ज्यान गुमाउनु परेको अनमी शाहले बताउनुभयो। एक छोरा र एक छोरीकी आमा बनिसकेकी सार्कीले तेस्रो बच्चा जन्माउने बेला उनको मृत्यु भएको स्थानीय बासिन्दाले बताए। मृतक सार्कीका पति भने विगत केही महिनादेखि कामको खोजीमा भारतको मुम्बई पुगेका छन्।
यता जिल्ला स्वास्थ्य कार्यालयमा एक साताअघि मात्र समग्र सुरक्षित प्रसूति सेवा सञ्चालनमा ल्याएको छ। जहाँ एक जना डाक्टर, एक जना एलएस फेसिया स्टाप नर्स र ल्याब असिस्टेन्टको व्यवस्था गरिएको छ तर पनि दूरदराज बस्तीका सुत्केरी आमाको पहुँचमा छैन। मोटरबाटोको पहंँुच नपुगेसम्म सदरमुकाम मार्तडीको सुरक्षित प्रसूति केन्द्र ग्रामीण स्तरका सुत्केरी आमाले उपयोग गर्न निकै कठिनाइ आउने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सिनियर अहेव रामचन्द्र यादवले बताउनुभयो। गत वर्ष मात्र बाजुरामा बच्चा जन्माउन नसकेकै कारण चार जना गर्भवतीले अकालमा ज्यान फाल्नुपरेको थियो।
स्रोतः  राजधानी दैनिक

No comments:

Post a Comment