तेह्रथुमका ब्राह्मण जाति नौमती बाजाको संरक्षण अभियानमा लागे

Add captionLike us:  विभेद बिरुद अभियान on Facebook

तेह्रथुम/रासस– तेह्रथुमको खाम्लालुङ गाविसका ब्राह्मण जाति नौमती बाजाको संरक्षण अभियानमा लागेका छन् । परम्परागत रूपमा दमाईं जातिले बजाउँदै आएको नौमती बाजा लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण गर्न उनीहरू जुटेका हुन् । खाम्लालुङ गाविसस्थित सामथाङ युवा क्लबको पहलमा लोपन्मुख हुन लागेको नौमती बाजाको संरक्षण अभियान थालिएको हो । गाउँघरमा हुने विवाह, व्रतबन्ध, वनभोजलगायतका उत्सवहरूमा अहिले सामथाङ युवा क्लबले नै बाजा बजाउँदै आएको क्लबका सदस्य गोपी ढुंगानाले बताए ।
उत्सवहरूमा बाजा बजाए बापत आयोजकको स्वेच्छाले प्रदान गरेको रकम क्लबमा जम्मा गरी सामाजिक कार्यमा खर्च गर्ने गरेको सदस्य ढुंगानाले बताए । बाजा बजाएर संकलन भएको रकमबाट गाउँघरमा हुने भोजभतेरका लागि भाँडावर्तन खरिद, सडक निर्माण, भलिबल तथा फुटबल खेलमैदान निर्माण, गरिब, अशक्त बिरामीको उपचारलगायतका सामाजिक कार्य गर्ने गरेको क्लबले जनाएको छ ।
गाउँघरका दमाईं जाति रोजगारीका लागि विदेश पलायन भएका र पुरानो पुस्ताले नयाँ पुस्तालाई सीप हस्तान्तरण नगरेकाले नौमती बाजा लोप हुन लागेको बताइएको छ । गाउँघरमा हुने विभिन्न कार्यक्रममा बाजा बजाउने मान्छे नभेटिँदा त्यसको बदला रेडियो, क्यासेट बजाई मनोरञ्जन गर्नुपरेको स्थानीय डिल्लीप्रसाद निरौलाले बताए ।
यसको संरक्षणका लागि छिमेकी जिल्ला संखुवासभा, ताप्लेजुङलगायतका स्थानहरूबाट नर्सिंगा, सनही, दमाहा, झ्याम्टालगायतका बाजाहरू खरिद गरेर बजाउन थालिएको क्लबका सदस्य रोहित ढुंगानाले बताए । अहिले बाजा बजाउनका लागि तेह्रथुमको संक्रान्ति, वाकु गाविसलगायत छिमेकी जिल्ला संखुवासभा, पाँचथर र ताप्लेजुङबाट समेत क्लबलाई बोलाउने गरिएको सामथाङ युवा क्लबले जनाएको छ ।

स्रोतःराजधानी दैनिक

No comments:

Post a Comment